SHARE
कालिका खबर · बुधबार १७ भौ २०८३ ०७:०५ AM · 1 मिनेट पढाइ

काठमाडौंका दुई खाद्य व्यवसायमा अनुगमन, सरसफाइ र भण्डारण सुधार्न निर्देशन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासोका आधारमा काठमाडौंका दुई खाद्य व्यवसायमा आकस्मिक अनुगमन गरी सरसफाइ, कीट नियन्त्रण तथा भण्डारण व्यवस्थापन सुधार्न निर्देशन दिएको छ। विभागले काठमाडौं महानगरपालिकासहितको बजार अनुगमन टोलीमार्फत २०८३ भदौ १६ गते काठमाडौं महानगरपालिका–१ स्थित कृष्ण बेकरी एण्ड कन्फेक्सनरी र काठमाडौं महानगरपालिका–२८ स्थित संयोग ब्वाइज होस्टेलमा निरीक्षण गरेको हो। कृष्ण बेकरी एण्ड कन्फेक्सनरीमा बेकरीजन्य खाद्य पदार्थमा ढुसी भेटिएको भन्ने गुनासो आएपछि अनुगमन गरिएको थियो। निरीक्षणका क्रममा खाद्य पदार्थको भण्डारण व्यवस्था सन्तोषजनक नपाइएको तथा उद्योगभित्र केही मरेका कीराको उचित व्यवस्थापन नभएको पाइएको विभागले जनाएको छ।