केरुङ बाढी त्रासदीपछि काठमाडौंमा मुख्यालय रहने ‘हिमाली सहकार्य संगठन’ स्थापना गर्न सुझाव
काठमाडौं / शांघाई । फुदान विश्वविद्यालयका प्रोफेसर डा. झाङ जियाडोङले रसुवा–चीन (तिब्बत) सीमावर्ती केरुङ (ग्यिरोङ) क्षेत्रमा हालै आएको विनाशकारी बाढीले हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट उत्पन्न नयाँ जोखिमलाई उजागर गरेको बताएका छन्। उनले हिमालय क्षेत्रका देशहरूबीच व्यापक सहकार्यका लागि काठमाडौंमा मुख्यालय रहने गरी औपचारिक ‘हिमाली सहकार्य संगठन’ स्थापना गर्न सुझाव दिएका छन्। फुदान विश्वविद्यालयस्थित सेन्टर फर साउथ एसियन स्टडीजका निर्देशक, बीआरआई स्ट्राटेजी एण्ड इन्टरनेसनल सेक्युरिटीका डिन तथा सेन्टर फर अमेरिकन स्टडीजका वरिष्ठ अनुसन्धानकर्ता समेत रहेका प्रोफेसर झाङले हाल कायम रहेका अन्तर्राष्ट्रिय सहकार्य संयन्त्र र विपद् पूर्वसूचना प्रणालीहरू समयअनुकूल नभएको बताएका छन्।
