केराको घारीभित्र हात्तीको छावा मृत फेला

काठमाडौँ । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित केराको घारीभित्र हात्तीको छावा मृत अवस्थामा फेला परेको छ।

सब डिभिजन वन कार्यालय लाटीझोडाका अनुसार बुधबार विहान नगरपालिका ६ स्थित भक्तराज लिम्बूले लगाएको केरा खेती (घारी) भित्र छावा मृत अवस्थामा फेला परेको हो।

स्थानीयले छावा मृत अवस्थामा भेटिएपछि सब डिभिजन कार्यालय, स्थानीय प्रहरी र सलकपुरस्थित सब डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए।

लाटीझोडास्थित डिभिजन वन कार्यालयका प्रमुख अमृत विलाश पन्तका अनुसार मृत भेटिएको छावा करिब ६ वर्ष उमेरको रहेको छ। मृत अवस्थामा भेटिएको छावा जंगलबाट व्यक्तिले लगाएको केरा खेतीभित्र पुगेको विषयमा अनुसन्धान भइरहेको उनले बताए।

छावाको सुँढ नजिक केही सामान्य चोट देखिएपनि शरीरमा ठूलो चोटपटक देखिएको छैन। घटनास्थल पुगेको टोलीले सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षलाई जानकारी गराएको छ।

आरक्षको टोलीसमेत आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका त्यसतर्फ पुगेको छ। टोलीले छावाको पोष्टमार्टम गरी घटनाबारे थप जानकारी दिनसक्ने अधिकृत पन्तले बताए।