ओली र भुटानी प्रधानमन्त्रीबीच छलफल   

काठमाडौँ । नेपाल र भुटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री  केपी शर्मा ओली र मित्रराष्ट्र भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच सोमबार बिहान भेटवार्ता भएको हो। दुई प्रधानमन्त्रीबीचको भेट राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको कार्यालयमा भएको हो।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार दुई देशबीच दुईपक्षीय र बहुपक्षीय मञ्चमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भयो।

छलफलका क्रममा भुटानी प्रधानमन्त्री तोग्बेले गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँगको आत्मीय सम्बन्ध रहेको बताए। उनले नेपालले भूटानका लागि देखाएको सद्भावप्रति आभार व्यक्त गरे।

प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण हुने बताए।