माओवादीमाथि प्रधानमन्त्री ओलीको व्यंग्य : बम विस्फोट भन्न हुने हो कि नहुने हो !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा बम विस्फोटबाट दुई बालबालिकाको ज्यान गएको घटनालाई जोडेर प्रतिपक्षी माओवादी केन्द्रमाथि व्यंग्य गरेका छन्। माओवादीले हिंसा भन्ने शब्दलाई लिएर सदन नै अवरोध गरेकोतर्फ इंगित गर्दै संसदमा ‘बम विस्फोट भनेर भन्ने  कि नभन्ने !’ भन्दै उनले व्यंग्य गरेका हुन्। 

आफ्नो अमेरिका भ्रमणबारे सदनलाई सोमवार जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘प्रकृतिको विपत्ति पनि होइन। पाँचथरमा दुई बालबालिकाको निधन भयो। अहिले त्यत्ति भनौँ। कसरी निधन भयो भन्ने कुरा पछि गरौँला। बम विस्फोटबाट भन्न हुने हो कि नहुने हो ! यहाँ त अन्योल भइरहेको छ। तर बम विस्फोटबाट दुई बालबालिकाको मृत्यु भयो। म दुःख व्यक्त गर्न चाहन्छु।’

प्रधानमन्त्री ओलीले मृतकका परिवारलाई ५/५ लाख रुपैयाँ राहतस्वरुप दिएको र दुईजना घाइतेको उपचार गर्ने जिम्मा लिएको पनि जानकारी दिए।

‘सरकारले मृतकका परिवारजनलाई ५/५ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ भने दुई घाइतेको उपचारको जिम्मा लिएको जानकारी गराउन चाहन्छु’, उनले भने।