प्रतिनिधिसभामा सहकारी छानबिन समितिको प्रतिवेदन पेश    

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ।

प्रतिनिधिसभाको सोमवारको बैठकमा समिति सभापति सूर्यबहादुर थापाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१ पेश गरेका हुन्। 

विभिन्न सहकारीहरूको बचत रकम अपचलन भएको भन्दै सो को छानबिन गर्न प्रतिनिधिसभाले थापाको संयोजकत्वमा २०८१ जेठ १५ गते ७ सदस्यीय छानबिन विशेष समिति गठन गरेको थियो।

प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले पार्टीभन्दा माथि उठेर छानबिन गरेको बताए। उनले छानबिन समितिमा रहेका पाँच पार्टीहरू एकैतिर फर्किएर छानबिन गरिएको बताए।

उनले समितिले ६६ वटा बैठक गरेको र विभिन्न ४५१ जना व्यक्तिहरूसँग सुझावमुलक जानकारी र अन्तरक्रिया गरेको जानकारी दिए। 

सहकारी ठगीको आरोपित ४७ जना सहकारी सञ्चालक, गोर्खा मिडिया नेटवर्क प्रा.लि.का सञ्चालक तथा कर्मचारीसमेत ३ जना र नियामक निकायका ५ जना गरी जम्मा ५५ जनासँग सोधपुछ गरिएको उनले जानकारी दिए।

प्रतिवेदन सभामा पेश भएसँगै सभामुख देवराज घिमिरेले प्रतिवेदनको आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिए। 

उनले भने, ‘सभामा प्रस्तुत सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन म सचिवालयलाई निर्देश गर्दछु।’