सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला १ लाख ५७ हजार ३ सय रूपैयाँमा कारोबार  

काठमाडौँ । सोमबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । विगत तीन दिनदेखि सुनको मूल्यमा लगातार नयाँ रेकर्ड बनिरहेको छ ।

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि आइतबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ५६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।

आज सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो ।

अमेरिकी केन्द्रीय बैंक फेडले ब्याजदर घटाउने चर्चापछि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि सोमबार तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय रुपैयाँ रहेको चाँदी आज १ हजार ९१५ रुपैयाँ पुगेको छ ।