माओवादी केन्द्रको बैठकमा आज पनि विधान सम्मेलनबारे छलफल

काठमाडौँ - नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शनिबार पनि बस्दैछ । 

बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। शुक्रबार शुरु भएको बैठकमा विधान सम्मेलनबारे छलफल भइरहेको छ । 

हिजोको बैठकमा विधान मस्यौदामा धारणा राख्ने अधिकांश सदस्यले पार्टी विधानमा समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित तथा समाजवादी विचारधारा प्रवाहित हुनेगरी व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।  यस्तै केन्द्रीय समिति एक सय ५१ सदस्यीय बनाउनुपर्नेमा जोड दिइएको थियो । स्थायी समिति बैठकको निर्णय अनुमोदन गर्न आइतबार र सोमबार केन्द्रीय समिति बैठक पनि बोलाइएको छ । 

पार्टीको विधान मस्यौदा स्थायी कमिटी र केन्द्रीय समिति बैठकले पास गरेपछि पार्टीको विधान सम्मेलनमा पेश हुनेछ । माओवादीको पहिलो विधान सम्मेलन फागुन १, २ र ३ गते प्रज्ञाभवन कमलादीमा हुने तय भएको छ ।