भ्रष्टचारी भिआइपी हुँदैन कांग्रेसको मन्त्र यही हो : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टचारी भिआइपी नहुने बताएका छन् ।

कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले शुक्रबार गरेको सम्मेलनमा बोल्दै महामन्त्री थापाले भ्रष्टाचारी, ठग र अराजक कोही पनि भिआइपी नहुने भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।

उनले भने, ‘दोषी जोसुकै होस् उम्कन हुन्न। निर्दोष जोसुकै होस् पर्न हुन्न। कानुन सबका लागि बराबर हुनुपर्छ,’ उनले भने, ‘सर्वसाधारण नागरिकले सार्वजनिक सम्पत्ति लुटेर लियो भने उसलाई के हुन्छ, दण्ड हुन्छ। सहकारी ठगे दण्ड हुन्छ। सामान्य कर्मचारीले ढुकुटीबाट राज्यलाई भार लगायो भने दण्ड हुन्छ। भ्रष्टचारी भिआइपी हुँदैन, कांग्रेसले समात्ने मन्त्र यही हो।’

उनले वीरगञ्जका मेयर राजेशमान सिंहलाई लक्षित गर्दै छोरीका नाममा नक्कली कागज खडा गरी नागरिकता बनाएको बताए। थापाले नक्कली कागज बनाएर नागरिकता बनाउनेलाई पाता कसेर लैजानुपर्ने बताए।

‘शक्तिशालीलाई पनि पाता कसेर लैजानुपर्छ, अनि बल्ल विधिको शासन हुन्छ,’ थापाले भने, ‘नक्कली कागज बनाएर कसैले नागरिकता बनाउँदा नागरिकलाई भए पाता कसेर लैजान्छ भने शक्तिशालीलाई पनि त्यसैगरी पाता कसेर लैजानुपर्छ। अनि बल्ल यो विधिको शासन हुन्छ।’