बाढीले क्षतिग्रस्त आईसीएफसी फाइनान्सको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त भएको त्रिशूली शाखा कार्यालयलाई बट्टारमा स्थानान्तरण गरी सोमबारदेखि पुनः सञ्चालनमा ल्याएको छ। बाढीका कारण विदुर नगरपालिका–१, त्रिशूलीस्थित फाइनान्सको शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सेवा बन्द भएको थियो। उक्त स्थानमा शाखा पुनःस्थापना गरी सञ्चालन गर्न सकिने अवस्था नरहेपछि फाइनान्सले शाखालाई विदुर नगरपालिका–४, बट्टारमा स्थानान्तरण गरेको जनाएको छ। शाखा स्थानान्तरणसँगै त्रिशूली शाखाका ग्राहकले नयाँ बट्टारस्थित कार्यालयबाट नियमित रूपमा फाइनान्सका सम्पूर्ण बैंकिङ सेवा लिन सक्ने भएका छन्।
