भोटेकोशी बाढीपीडितका लागि पठाइने राहत खाद्य सामग्रीको खाद्य विभागद्वारा अनुगमन
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भोटेकोशी बाढीपीडितका लागि पठाउन तयारी अवस्थामा राखिएका राहत खाद्य सामग्रीको निरीक्षण तथा अनुगमन गरेको छ। विभागले २०८३ असोज २ र ३ गते काठमाडौंको सामाखुसीस्थित राधा स्वामी सत्सङ्गमा राखिएका राहत सामग्रीको निरीक्षण गरेको हो। अनुगमनका क्रममा राहतका लागि पठाउन तयारी अवस्थामा राखिएका विभिन्न खाद्य सामग्रीको खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अवस्थाबारे जाँच गरिएको विभागले जनाएको छ। अनुगमनका क्रममा सनफ्लावर तेल, तयारी चाउचाउ, बिस्कुट, तोरीको तेल, ओट्स, ताईचीन चिउरा, कुकिजलगायतका खाद्य सामग्री राहतका लागि पठाउन तयारी अवस्थामा रहेको पाइएको थियो।
