महेन्द्र राजमार्गमा गुडिरहेको विद्युतीय मिनिबसमा आगलागी
काठमाडौं । महेन्द्र राजमार्गअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका–७ रम्मापुरमा गुडिरहेको विद्युतीय मिनिबसमा अचानक आगलागी भएको छ। कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सार्वजनिक विद्युतीय बसमा आइतबार बिहान करिब ६ः५० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। गुडिरहेको अवस्थामा बसबाट धुवाँ निस्कन थालेपछि केहीबेरमै आगो लागेको थियो। घटनाका समयमा बसमा चालक र सहचालक मात्र सवार थिए। धनगढी उपमहानगरपालिका–३ निवासी ३८ वर्षीय नरेन्द्र नेगीले बस चलाइरहेका थिए। आगलागी भएको थाहा पाएपछि चालक र सहचालक समयमै बसबाट बाहिर निस्कन सफल भएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
