प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, मुखमा माइक नघोच्नुस् : अध्यक्ष ओली
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र स्थापित अभ्यासलाई ध्यान दिनुपर्ने बताएका छन्। एमाले केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले आफूहरूसँग प्रश्न गर्नुअघि अनुमति लिनुपर्ने बताएका हुन्। उनले प्रश्न सोध्ने क्रममा माइक अगाडि ल्याएर जबर्जस्ती प्रतिक्रिया लिन खोज्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै त्यसो नगर्न सञ्चारकर्मीलाई आग्रह गरे। ओलीले अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यास भन्दै प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग प्रश्न गर्न मिल्ने–नमिल्नेबारे अनुमति लिने र कुराकानी वा भनाइ प्रकाशित गर्नुअघि समेत सम्बन्धित व्यक्तिलाई जानकारी गराउने अभ्यास रहेको दाबी गरे।
