छठअघि वीरगन्जमा प्रदूषणविरुद्ध आक्रोश, उद्योगका अधिकारीलाई कालो मोसो
छठ पर्व नजिकिँदै गर्दा सिर्सिया नदी प्रदूषणको विषयले फेरि तराईको जनजीवन तातिएको छ। वीरगन्ज महानगरपालिका–३२, चोर्नीस्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रा.लि. का एक अधिकारीमाथि शुक्रबार स्थानीयवासीले कालो मोसो दलेका छन्। स्थानीयहरूको एक समूहले कम्पनी परिसरमै प्रवेश गरी प्रशासन शाखाका अधिकारी काशीनाथ तिवारीमाथि दुव्र्यवहार गर्दै कालो मोसो दलिएको प्रहरीले पुष्टि गरेको छ।
