फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी
वालिङ (स्याङ्जा), ३० असोज । स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी गर्दै आउनुभएको छ । पूर्वशिक्षकसमेत रहनुभएका उहाँले दसैँ र तिहारलाई लक्षित गरी फूलखेती गर्दै आउनुभएको हो । गत असारमा शिक्षण पेसाबाट अवकाश लिनुभएका भण्डारीले फुर्सदको समयलाई सदुपयोग गरी फूलखेतीमा गरिरहेको बताउनुभयो । दसैँ, तिहार, छठलगायत धार्मिक कार्यहरूलाई लक्षित गरी दुई चरणमा फूलका बिरुवा रोप्ने गरेको उहाँले जानकारी दिनुभयो । दसैँ, तिहारलाई लक्षित गरी तीन रोपनी क्षेत्रफलमा र मङ्सिरपछि उत्पादन हुनेगरी थप दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेको उहाँले बताउनुभयो ।
