अस्थायी डाइभर्सन बनेपछि बिपी राजमार्गमा सवारी चाप बढ्यो
रामेछाप, २५ असोज । बाढीले सडक बगाएको ठाउँमा अस्थायी डाइभर्सन बनाएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ । रोशी खोलमा आएको बाढीले बगाएको सडकमा अस्थायी डाइभर्सन बनाएपछि शुक्रबार साँझबाट यातायात सञ्चालन भएको हो । गत असोज १७ गते रातिदेखि तीन दिनसम्मको अविरल वर्षाले बिपी राजमार्गको काभ्रे खण्डमा चौकिडाँडादेवी माम्तिसम्म १४ ठाउँभन्दा बढी स्थानमा क्षति पुर्याएको थियो । त्यस्तै, सिन्धुली खण्डको नेपालथोकदेखि वर्षेखोलासम्म दुई ठाउँमा क्षति पुर्याएको थियो । रोशीखोला खण्डमा करिब ५ किलोमिटर सडकमा बाढीले क्षति पुर्याउँदा असोज १७ गते साँझदेखि यातायात अवरुद्ध थियो ।
