भिस्वा सिमाक्षेत्रमा सशस्त्र प्रहरीद्वारा दुई लाख बराबरको अवैध चुरोट बरामद
पर्सा, असोज २५। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा चौकी (बीओपी) भिस्वाको टोलीले अवैध रूपमा भारततर्फ लैजाने तयारीमा रहेको करिब दुई लाख रुपैयाँ बराबरको सिखर ब्रान्डका चुरोट बरामद गरेको छ। असोज २५ गते बिहान करिब ९:५० बजे छिपहरमाई गाउँपालिका–स्थित भिस्वा सिमाक्षेत्रमा नियमित गस्तीमा खटिएको टोलीले उक्त चुरोट बरामद गरेको हो। सीमाक्षेत्र नजिकै एक व्यक्ति मोटरसाइकलमा चुरोट बोकी भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीको टोली देखेपछि मोटरसाइकल फालेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। फरार व्यक्तिले छोडी गएको सो मोटरसाइकलको तलासी गर्दा दुई कार्टूनमा प्याक गरिएको १०० बन्डल सिखर ब्रान्डका चुरोट बरामद गरिएको हो।
