जेनजी आन्दोलनको १४ महिनाः जलेका सरकारी संरचना अलपत्र, पक्राउ परेकालाई छाड्ने तयारी
काठमाडौं । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जलेका सरकारी तथा निजी संरचनाको पुनर्निर्माणले गति लिन सकेको छैन । आन्दोलनका क्रममा क्षति पुर्याएको आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्ने विषयमा सरकारले कानुनी राय मागेपछि पुनर्निर्माण, न्याय र कानुनी शासनको विषयमा बहस चर्किएको छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालतसहित विभिन्न अदालत, प्रहरी कार्यालय तथा भैंसेपाटीस्थित मुख्यमन्त्रीहरूको निवासलगायत संरचनामा आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको थियो । तर, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण अपेक्षाअनुसार अघि बढ्न नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाइएको छ ।
