दसैँमा प्रहरीको निःशुल्क बस सेवाबाट ३ हजार ५८५ यात्रु लाभान्वित
काठमाडौं । दसैँ पर्वका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा काठमाडौं उपत्यकामा सञ्चालित निःशुल्क बस सेवाबाट तीन हजार ५८५ यात्रु लाभान्वित भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार दसैँका बेला सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त सेवाबाट यात्रुहरूले निःशुल्क यात्रा सुविधा लिएका हुन्। कार्यालयका अनुसार तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी दुई दिनमा एक हजार ४०६ यात्रुले निःशुल्क बस सेवा प्रयोग गरेका छन्। दसैँका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले प्रहरीको निःशुल्क बस सेवाले सर्वसाधारणको आवागमन सहज बनाउन सहयोग पुर्याएको छ।
