पोखराको फेरिंदो दसैं
वर्षा रोकिएर बाक्लो हिउँसहित खुलेको हिमाल, पोखराका फाँटहरूमा हरियाली छाएर पोखरेली जेठोबुढो धान झुल्दै गर्दा दसैं आएको अनुभव पोखरेलीले गर्छन्। यसपछि सोह्रश्राद्ध सकिनै लाग्दा हिमालबाट भेडाच्याङ्ग्रा पोखरा बजारमा झर्न थालेपछि पोखरेलीलाई दसैं लाग्छ।दसैंका लागि हिमाली जिल्ला मुस्ताङ, डोल्पा, बझाङ, बाजुरालगायतका जिल्लाबाट पोखरामा भेडाच्याङ्ग्रा ल्याइन्छ। गण्डकी प्रदेशको राजधानी सहर पोखरामा छिमेकी जिल्ला स्याङ्जा, पर्वत, गोर्खा, बागलुङ, तनहुँलगायतका जिल्लाबाट खसीबोका भित्रिन्छन्।
