यो दसैंमा नि आइनँ घर
चुल्होमा बसी रोयौ कि आमा यो छोरो सम्झेर,यो दसैंमा नि आइनँ घर परदेशी फर्केर।जमरा राखी पर्खेकी हौली काँसको थालमा,बाँचेमा फर्की आउँला छिट्टै आउने सालमा।त्यो गैरीखेत रोपेको धान पाकेर झुल्यो होला,रंगी र चंगी मखमली फूल पाखैमा फुल्यो होला।चुरुंगीले मीठो गाउँलान् गीत वन र पाखामा,गाउँको फोटो झल्झली आयो यी मेरा आँखैमा।त्यो रोटेपिङ गाउँका सबै खेलेको देखेर,आँसुका ढिका झार्र्यौं कि आमा मलाई सम्झेर।यस्तै छ दुःख जीवनभरि परदेशी हुनेको,सुकेर जाला फूलैको माला बहिनीले उनेको।
