गिद्धका लागि वासस्थान बन्दै गम्भीर चुनौती

गण्डकी - वासस्थानको अभावमा प्रकृतिको कुचिकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ । पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण पोखरा र आसपासमा रहेका गिद्धका प्रमुख वासस्थान सङ्कटमा पर्दै गएका छन् ।

पोखरा महानगरपालिका–१५ छिनेडाँडास्थित फोहर बिसर्जन स्थल परिवर्तन गरिएपछि थप चुनौती थपिएको छ । पोखरा उपत्यकामा बढ्दो बस्ती विकासको क्रमसँगै विगत दुई दशकयता गिद्धका प्रजाति लोप हुँदै गएका छन् । गिद्धको बासस्थान विशेषतः अग्लो सिमलको रूख नै हो । सिमलका रूखमा उनीहरू बस्ने र गुँड लगाउने गर्दछन् । पोखरा आसपासका क्षेत्रमा बस्तीको विकाससँगै यहाँ रहेका सिमलका रूख काटिने क्रमसँगै उनीहरूको वासस्थान सङ्कटमा परेको छ ।

पोखरा उपात्यकाका चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेतलगायत स्थानमा करिब १५(१६ वर्ष अघिसम्म ठूलै संख्यामा गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा लोप भइसकेका छन् । सिमलका रुख काटिनुका साथै बढ्दो बस्ती र यातायातका साधन एवम् उद्योगबाट निस्कने धुलो धुँवाका कारण गिद्ध सङ्कटमा परेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै छिनेडाँडास्थित फोहर बिसर्जन केन्द्रलाई पोखरा– ३२ लामेआहालमा सारिएपछि गिद्ध पुनः सङ्कटमा परेका छन् । फोहर बिसर्जन केन्द्र सारिए पनि त्यहाँबाट गिद्ध पूर्णरुपमा वास्थान छाडेर गई नसकेको पोखरा पक्षी समाजका सचिव हेमन्त ढकालले जानकारी दिए । १५औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा पोखरा र तनहुँका विभिन्न आठ ठाउँमा गरिएको गिद्ध गणनाका क्रममा पुरानो ल्यान्डफिल साइडमा ४०–५० वटा गिद्ध फेला परेका ढकालले बताए ।