भारतको केरला आइपुग्यो मनसुन, नेपाल भित्रन १० दिन लाग्ने

काठमाडौँ । यस वर्षको मनसुन भारतको केरला आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुन १० दिन सम्ममा नेपाल आइपुग्नेछ ।

गत वर्ष केरला आइपुगेको मनसुन १० दिनमा नेपाल आइपुगेको थियो । गत वर्ष नेपालमा मनसुन जुन १४ (जेठ ३१ गते) मा भित्रिएको मौसमविद् लामिछानेले बताए । गत वर्ष अक्टोबर १५ (असोज २८) मा मनसुन बाहिरिएको थियो ।

बङ्गालदेखि मेघालय हुँदै आसामतिर बाट मनसुन नेपाल भित्रने उनको भनाइ छ । मौसमविद् लामिछानेका अनुसार अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावक कारण कोशी, बागमती गण्डकी प्रदेशका केही भू- भागमा बेलुकापख मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको पशिचमी भू- भागमा भने पानी पर्ने सम्भावना नरहेको उनको भनाइ छ । अहिले नेपालगन्ज आसपासको तापक्रम ३८ डिग्री सेल्सियस पुगेको छ भने काठमाडौँ उपत्यकाको तापक्रम ३१ डिग्री सेल्सियस रहेको छ ।