मलाई यति छिट्टै प्रधानमन्त्रीबाट हटाइन्छ भनेर विश्वले नै ठानेको थिएन : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई यति छिट्टै प्रधानमन्त्रीबाट हटाइन्छ भन्ने कुरा विश्व समुदायले पनि नठानेको बताएका छन्।

पार्टीको काठमाडौँ चितवन सम्पर्क समन्वय समितिको भेलालाई शनिबार सम्बोधन गर्दै प्रचण्डले विश्वले नेपाललाई अहिले नजिकबाट हेरिरहेको बताए।

‘एउटा मात्र उदाहरण भन्छु म प्रधानमन्त्रीबाट हटेपछि ब्रिटिस राजदूतले एउटा पत्र ल्याउनुभयो त्यहाँको प्रधानमन्त्रीले पठाएको पत्र। मैले त्यो प्रधानमन्त्रीलाई दिनुपर्ने पत्र हो कहाँ यहाँ (खुमलटार) ल्याउनुभएको भनेँ।’ प्रचण्डले थपे, ‘राजदूतले तपाईं प्रधानमन्त्री हुनुस् वा नहुनुस् तपाईं प्रधानमन्त्रीभन्दा माथिको नेता भएकाले तपाईंको हातमा दिनु भनेर हाम्रो प्रधानमन्त्रीले भन्नुभएको छ भन्नुभयो। यो विश्वले नेपाललाई कसरी चिन्दै छ भन्ने सानो उदाहरण मात्रै हो।’

उनले इजरायल-हमासको लडाई भइरहँदा पनि संयुक्त राष्ट्रसंघका महासचिवलाई नेपाल ल्याउन आफू सफल भएको बताए। उनले आफू सरकारबाट बाहिरिँदै गर्दा विजयी भाव र आत्मविश्वासका साथ निस्किएको तर सरकारमा जानेहरू काम्दै गएको टिप्पणी गरे।

उनले सरकारले दुई तिहाइको दम्भ देखाउन खोजे पनि आफूहरूले निरन्तर खबरदारी गरिरहेको बताए। त्यसैको फलस्वरुप सरकार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपसभामुख इन्दिरा रानालाई हटाउने कदमबाट पछि हटेको प्रचण्डको दाबी छ।