जग्गा विवाद : नुवाकोटमा खुकुरी प्रहार गरी भाइले गरे दाइको हत्या

काठमाडौँ । नुवाकोटको मानेगाउँमा भाइले आफ्नै दाइको विभत्स हत्या गरेका छन् । दाइको हत्या गर्ने भाइलाई प्रहरीले पक्राउ गरेको छ ।

किस्पाङ गाउँपालिका - ५ मानेगाउँमा ६७ वर्षीय शिववहादुर तामाङले  खुकुरी प्रहार गरी आफ्नै दाइ ७२ वर्षीय खमसिंह तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दाइभाइबीच लामो समयदेखि जग्गा विवाद रहेको पाइएको छ। अपराधिक गतिविधिमा संलग्न शिवबहादुरले  दाइलाई घरेलु हतियार खुकुरी  प्रहार गरि हत्या गरेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार दाइको हत्या गर्ने शिवबहादुरलाई हतियारसहित पक्राउ गरिएको हो।

घटनाको जानकारी पाउने वित्तिकै प्रहरी चौकी मैलुङबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । दाइको हत्या गरी आफ्नै घरको माथिल्लो तलामा लुकिरहेको अवस्थामा शिवलाई पक्राउ गरिएको नुवाकोट प्रहरीले जनाएको छ । उनको साथबाट खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।