दैलेखमा भाइको सट्टामा एसइई दिने व्यक्ति पक्राउ

काठमाडौँ । दैलेखमा प्रहरीले एकजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भाइको सट्टामा एसइई परीक्षामा संलग्न नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो।

महाबु गाउँपालिकाको गैडाबाज माध्यमिक विद्यालय रानीवनका नियमित एसइई परीक्षार्थी भाइका लागि नक्कली परीक्षार्थी बनेका आरोपित बालक नारायण नगरपालिका–१ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेको जनाइएको छ।

नक्कली परीक्षार्थी भन्ने निश्चित भएपछि प्रहरीको जिम्मा लगाइएको केन्द्राध्यक्ष निकरबहादुर तारीमाले जानकारी दिए। एसइई परीक्षाको पहिलो दिन भाइको सट्टामा दाइले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ गरिएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए।

यस्तै, आजदेखि सञ्चालनमा आएको एसइई परीक्षामा दैलेखबाट पाँच हजार बढी विद्यार्थीले सहभागिता जनाएका छन्।