स्वास्थ्य करको सबै रकम बीमाका लागि दिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल   

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य कर कोषको सबै रकम स्वास्थ्य बीमा कार्यक्रमका लागि दिनुपर्ने बताएका छन् । स्वास्थ्य बीमालाई ५ लाखसम्म स्रोतको सुनिश्चित गर्न पनि सो व्यवस्था मिलाउन आफूहरु लागि परेको मन्त्री पौडेलको दाबी छ । 

शुक्रबार वीर अस्पतालमा डा। केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ कार्यक्रममा उनले सरकारी कर्मचारीहरुको तलबको २ प्रतिशत रकम पनि स्वास्थ्य बीमा कार्यक्रमका लागि छुट्याउनुपर्ने प्रस्ताव गरे।

स्वास्थ्य बीमाको स्रोत सुनिश्चित गर्न सरकारले आधार खोजी गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले त्यसका व्यवस्था हुनेबित्तिकै स्वास्थ्य बीमाबापत ५ लाख रकम पाउने व्यवस्था गर्ने बताए। 

त्यस अवसरमा उनले वीर अस्पतालको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि सरकारले सक्दो सहयोग गर्ने आश्वासनसमेत दिए। 

‘राज्यको वेतन खानेहरुले २ प्रतिशत बीमामा योगदान गर्ने व्यवस्था हुनुपर्छ भनेर हामीले भनेका छौँ। स्वास्थ्य कर कोषको सबै पैसा बीमामा जाने व्यवस्था गरिनुपर्दछ‚’ उनले भने, ‘बीमाको स्रोत सुनिश्चित गर्नका निम्ति हामीले आधार खोजीरहेका छौं । यो आधार विश्वसनीय भईसकेपछि सरकारले ५ लाख बीमा प्राप्त गर्नेगरी यो बीमाको व्यवस्थापन गर्नेछ।’

मन्त्री पौडेलले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि मातहतका निकायलाई निर्देशन दिए।