‘हिंसा’ शब्द रेकर्डबाट नहटेसम्म संसद् अवरोध जारी रहन्छ : शक्ति बस्नेत

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले माओवादी जनयुद्धलाई अपमानित गर्ने र अवमूल्यन गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएको छ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै पार्टीका उपमहासचिव शक्तिबहादुर बस्नेतले नेपालको संविधान, शान्ति प्रक्रियाको भावना र जनयुद्धको भूमिकालाई अवमूल्यन र अपमानित गर्ने गरी एमालेका सांसद योगेशकुमार भट्टराईले संसद्‌मा बोलेको विचारप्रति आफ्नो दलको असहमति, आपत्ति र विरोध कायमै रहेको पनि बताएका हुन्।

उनले भने, ‘माओवादीको १० वर्षे सशस्त्र संघर्षलाई अपमानित गर्ने गरेर अपमानजनक ढंगले व्यक्त भएका विचारहरुप्रति हाम्रो दलको तर्फबाट असहमति रहेको कुरा, आपत्ति रहेको कुरा, विरोध रहेको कुरा म यहाँ दर्ज गर्न चाहन्छु।’ 

उनले सो सम्बन्ध स्पष्ट पार्न पनि सम्बन्धित दलसँग माग गरे।