'मरेपछि खरानी भएर जाने अंग दान गरौं, धेरैले पुनर्जीवन पाउँछन्' : प्रधानमन्त्री दाहाल 

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न अपील गरेका छन् । आज बिहान काठमाडौंमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै उनले मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउने प्रयास गर्न आग्रह गरेका हुन् ।

मरेपछि खरानी भएर जाने अंगहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउने उनको भनाई छ । ‘मस्तिष्क मृत्युपछि अंगदान गर्नेसम्बन्धी विषयमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको प्रयास सराहनीय छ । मस्तिष्क मृत्युपछि अंगदान गर्न आम सर्वसाधारण हिचकिचाइरहेको देखिन्छ। म स्वयंले पनि अंगदान गर्ने घोषणा यसअघि नै गरेको छु ।’

प्रचण्डले भने, ‘सबै दाजुभाइ दिदीबहिनीहरूमा म आह्वान गर्दछु–मरेपछि खरानी भएर जाने अंगहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन् । मानव हुनुको नाताले कलेजो, मृगौला, मुटु, फोक्सो लगायतका अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो । तसर्थ, अंग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा हार्दिक अपील गर्दछु ।’