बझाङमा चट्याङ लागेर एकको मृत्यु, सात जना घाइते

बझाङ-बझाङमा चट्याङले लागेर एक जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका–६ नौरामा गए राति साढे नौं बजेतिर घरमा चट्याङ लाग्दा ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जयपृथ्वी नगरपालिका–६ का अध्यक्ष नरेन्द्रबहादुर सिंहकाअनुसार घाइते हुनेहरुमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धिरेन्द्रबहादुर सिंह, २५ बर्षीया निशा सिंह, १८ महिनाकी कृतिका सिंह, ४० वर्षीया पञ्चादेवी सिंह, ९ वर्षीय नितेश सिंह र १३ वर्षीया लक्ष्मी सिंह रहेका छन् ।

घाइते सबैको हात खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए । घाइतेमध्ये लक्ष्मी सिंहको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।