गठबन्धन सरकारका कारण मुलुक बहुआयामिक सङ्कटतिर धकेलिँदै छ : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलेगठबन्धन सरकारका कारण मुलुक बहुआयामिक सङ्कटतिर धकेलिँदै गएको टिप्पणी गरेका छन् । उनले सरकार ‘मल्टिपल अर्गान फेलियर’ हुन लागेको मान्छे जस्तो अवस्थामा पुगिसकेको दाबी गरे।

प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले देशको बाह्य सम्बन्धहरू असाध्यै नराम्रोसँग बिग्रिएको बताए।

उनले भने, ‘सत्ता टिकाउनका निम्ति जस्तोसुकै शक्तिहरू, पक्षहरूसँग पनि सौदाबाजी गर्ने सरकारको नीतिले गर्दा हाम्रो बाह्य सम्बन्ध र राष्ट्रहितमाथि आघात पुगेको छ ।’

नेपालको स्वतन्त्र, असंलग्न, सन्तुलित नीतिमाथि गम्भीर विचलनहरू उत्पन्न भएको दाबी गरे। ‘अर्थतन्त्र विकराल अवस्थाबाट गुज्रिरहेको छ,भ्रष्ट्राचार बढेको छ, समाजमा नैराश्यता बढेको, युवा पलायन बढेको, देश बन्दैन भन्ने भाष्य र नकारात्मक मनोविज्ञान बढेको छ । उनले भने।