न्यायाधीश डा.परशुराम भट्टराईले दिए राजीनामा

काठमाडौँ । जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले न्यायाधीश पदबाट राजीनामा दिएका छन् । न्यायपरिषदबाट उनी लगायत अरु दुई न्यायाधीशमाथि छानबिन गर्न समिति गठन भएको र समितिले काम गरिरहेको बेला उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामापत्र बुझाएका हुन् ।

न्यायाधीश भट्टराईले माघ ५ गते शुक्रवार आफ्नो राजीनामा बुझाएका हुन् । लामो समयदेखि न्याय परिषद्मा तानिएका जिल्ला न्यायाधीश भट्टराईले अन्ततः राजीनामा दिएका हुन् । आफूमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै उनले शुक्रबार न्याय परिषद्मार्फत प्रधान न्यायाधीशसमक्ष राजीनामा बुझाएका हुन् ।

जिल्ला अदालत धनुषाको न्यायाधीश हुँदा व्यक्तिहत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषदमा उजुरी परेको थियो ।

६ कात्तिक २०७६ मा जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो । हत्याका आरोपित दामोदरप्रसाद चौधरी लगायतमाथिको आरोप पुष्टि नहुने भन्दै न्यायाधीश भट्टराईको इजलासले सफाइ दिएको थियो ।