छोरीको कलेजोले बाबुले नयाँ जीवन पाएपछि...

कास्की - पोखरा महानगरपालिका–३० खुदीका ६४ वर्षीय वासुदेव लामिछानेलाई छोरीको कलेजोले नयाँ जीवन दिएको छ ।
विसं २०७५ तिर कलेजोमा समस्या देखिएको थियो । उनले चार वर्ष औषधि खाएर रोग निको पार्ने प्रयास गरे पनि विस्तारै औषधिले काम गर्न छाडेको थियो ।

एक वर्षदेखि उनलाई रोगले बढी च्याप्न थाल्यो र अवस्था गम्भीर भयो । लामिछानेको कलेजो क्षतिग्रस्त भएको र राम्रोसँग काम नगरेकाले चिकित्सकले अन्तिम चरणको उपचारका रूपमा कलेजो प्रत्यारोपण गर्न सुझाव दिए ।

कमजोर आर्थिक अवस्थाका कारण छिमेकी मुलुक गएर उपचार गर्न उनको अवस्था थिएन । परिवारकै सदस्यबाट प्रत्यारोपण गर्नुपर्ने र यसबाट खर्चसमेत कम हुने भएकाले उनले परिवारसँग सल्लाह गरे । तीन छोरी र दुई छोराका बाबु लामिछानेको कलेजो प्रत्यारोपणका लागि परिवारमा छोरा–बुहारीसँग रक्त समूह मिलेन । रोगले दिनानुदिन च्याप्दै जानु र प्रत्यारोपणका लागि उपयुक्त व्यक्ति नपाउँदा लामिछानेले जीवनको आश मारिसकेका थिए ।

अन्तिममा उनकी जेठी छोरी पोखरा–३० पावरहाउस बस्ने रञ्जना लामिछाने बरालको रक्तसमूह मिलेर प्रत्यारोपण गर्न मिल्ने भयो । त्यसका रञ्जनाको घरबाट समेत स्वीकृति मिल्यो । रञ्जनाले बाबुको जीवन बचाउन जोखिम उठाए र आफ्नो कलेजो बाबुलाई दिन तत्कालै तयार भए ।

साहसपूर्वक आफ्नो कलेजो दिएर बुबालाई नयाँ जीवन दिन रञ्जना तयार भएपछि लामिछानेको गत आइतबार भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ ।

कलेजो रोगका कारण थलिएर जीवनमरणको दोसाँधमा उभिएका लामिछानले छोरीले कलेजो दिएपछि पुनर्जीवन पाएका छन् । छोरी रञ्जनाले आफ्नो कलेजो दिन तयार भएको र अहिले बाबुछोरी दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको छोरा सुशीलले बताए ।