'जनताले एमाले नेतृत्वको सरकार खोजेका छन्' : रामबहादुर थापा

 काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा नेपालको एउटा ऐतिहासिक अभियान भएको बताएका छन् ।

मंसिर १४ झुलाघाट सुरु भई पुस १ गते चिवाभन्ज्याङ पुगेर सम्पन्न भएको यात्राले समाजवादी आन्दोलन र समाजवाद स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थापाले बताए । ‘यो एउटा राजनीतिक अभियान थियो, यसले नेकपा एमालेको राजनीतिक कार्यदिशा स्थापना गर्न महत्पूर्ण भूमिका खेलेको छ’, उनले भने ।

नेपालको समृद्धिको लागि यात्राले पार्टीलाई प्रशिक्षित बनाएको र ज्ञान दिएको उनले बताए । अभियानबाट पार्टीले जनताबाट धेरै कुरा सिकोको उनको भनाइ छ । नेतृत्व विकासमा पनि यात्राले भूमिका निर्वाह गरेको उनले बताए । नेपालाई बुझ्न यात्राले पार्टीलाई ज्ञान दिएको उनको धारणा छ । ‘यो अभियान ठूलो विश्वविद्यालय बनेको छ’, थापाले भने ।