राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज दललाई चुनाव चिह्न प्रदान गरिंदै

काठमाडौँ - निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको छ ।

दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएको थियो । दर्ता भएका दललाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।

फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदैछ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।