'उजाड बन्दै गएको गाउँलाई रहर र आशा लाग्दो बनाउने महाअभियानमा एमाले छ' : अध्यक्ष ओली

तेह्रथुम - नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उजाड बन्दै गएको गाउँलाई रहर र आशा लाग्दो बनाउने महाअभियानमा एमाले रहेको बताएका छन् । विकास र सेवा सुविधा सहरतर्फ केन्द्रित हुँदा गाउँ उजाड बन्दै गएको बेला अध्यक्ष ओलीले बढ्दो बसाइसराई रोक्न एक मात्र विकल्प गाउँको विकास अपरिहार्य भएको बताएका हुन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १६औं दिनमा आफ्नो जन्मघर तेह्रथुममा पुगेका अध्यक्ष ओलीले आफ्ना बालसखासँग कुराकानी गर्दै गाउँको विकास र समृद्धि सिर्जना गर्न एमालेले मिसन ८४ अभियान सुरु गरेको बताए । उनले भने, ‘स्थिर सरकार नबन्दा, गाउँको विकास हुन सकेन, जनताले दुःख पाए, बेरोजगारको संख्या बढ्यो । तसर्थ विकास र समृद्धिका लागि यो मुलुकमा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेकाले मिसन ८४ सुरु गरेका हौँ ।’

‘यति सुन्दर गाउँ आज उजाड बन्यो, मान्छे बस्ने होइनन् आउने समेत वातावरण बनेन्, अध्यक्ष ओलीले भने, ‘यी सबै काम छोटो समयमा एमालेको नेतृत्वको सरकारले सुरु गरेको थियो तर त्यसबाट अत्तालिएर पार्टी भित्र र बाहिरका अन्य शक्ति लागेर अदालतको आदेशमा ढाले ।’

बालसखासँगको छोटो भेटघाटमा उनीहरुले मन फुकाएर कुरा गरेका थिए । उनीहरू मध्ये केहीले गाउँमा व्यवसायिक कृषि सुरु गरेको तर बजार अभाव भएकाले उत्पादित वस्तु खेर गएको गुनासो सुनाए । ओली गाउँमा पुग्दा एक बालसाखले भिडियो कल गरे र गाउँमा बस्ने वातावरण नभएका गुनासो गरे । ‘त्यहाँ सुनसान छ । कोही छैन अप्ठेरो छ’, उनले गुनासो गरे ।