टिप्परको ठक्करबाट मृृत्यु, सडकमा शव राखेर स्थानीयले गरे राजमार्ग बन्द  

काठमाडौँ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ढकेरीमा गएराति टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयले शवलाई सडकमै राखेर राजमार्ग बन्द गरेका छन्।

कोहलपुरबाट पूर्व जाँदै गरेको भे १ ख ३०९९ नम्बरको टिप्परले भे १० प १४१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक लोकेन्द्र विष्टको घटनास्थलमै मृत्यु भएको थियो।

घटनालगत्तै स्थानीयले राजमार्ग बन्द गरेको थिए। आक्रोशित भिडले टिप्पर जलाइदिएका छन्। बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डांगीले टिप्परका मालिकलाई इलाका प्रहरी कार्यालय, कोहलपुरमा ल्याइएको र पीडित पक्षसँग वार्ताको प्रयास भइरहेको जानकारी दिए।

चालक भने फरार रहेका छ्न्। प्रहरीले उनको खोजी गरिरहेको छ। घटना गएराति साढे ९ बजे राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९, ढकेरीमा भएको थियो। मृतक विष्ट राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ निवासी हुन्।