मन्त्रालयको बाँडफाँट भइसकेको छैन : अध्यक्ष ओली  

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ बन्ने सरकारका लागि मन्त्रालयको बाँडफाँट भइनसकेको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘मन्त्रालयको बाँडफाँट पनि भइसकेको छैन,’ ओलीको भनाइ छ, ‘को(को सरकारमा सामेल हुने भन्ने कुरा साधारणतः हैसियतको आधारमा, कांग्रेस र एमालेले सामान्यतः बराबरको हैसियतमा व्यवहार गर्दछन् । सामान्यतः स्ट्रेन्थको आधारमा पनि पार्टीहरुलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ । त्यस कुरामा पनि ध्यान दिइरहेका छौँ ।’

नयाँ सहमति अनुसार प्रधानमन्त्री बन्न लागेका ओलीले आफूले जनतालाई केन्द्र भागमा राखेर काम गर्ने समेत प्रतिवद्धता जनाए । ओलीले राष्ट्रिय उत्पादन वृद्धि गर्न विशेष जोड दिने बताए । उनले उद्यमशिलता, कृषिमा आधानुकीकरण र व्यवसायिकीकरण, यान्त्रिकीकरणमा ध्यान दिन आवश्यक रहेको बताए । 

‘हाम्रो अहिले उद्यमशिलतामा ध्यान जानु, कृषिमा आधानुकीकरण र व्यवसायिकीकरण, यान्त्रिकीकरणमा जोड दिनु र व्यावसायिकतामा ध्यान दिनु, उद्यमशिलता, औद्योगिकीकरण, आधुनिकीकरण, प्रविधिको प्रयोगमा जोड दिनु आजको आवश्यकता हो,’ उनले भने, ‘उत्पादनका लागि पूर्वाधारका विकासमा ध्यान दिनु आजका आवश्यकता हुन् । शिक्षालाई बढी व्यावहारिक, जीवनोपयोगी शिक्षामा परिणत गर्नु आजको आवश्यकता हो । जनतालाई केन्द्र भागमा राखेर काम गर्नेछौँ ।’