एमाले सचिवालय बैठक सुरु, के छ छलफलको एजेन्डा ?  

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । पार्टी मूख्यालय च्यासलमा बैठक सुरु भएको हो ।

यसअघि हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक आजका लागि सारिएको थियो ।

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । त्यस्तै पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ । यसअन्तर्गत जिल्ला र जनसंगठन इन्चार्जहरू परिवर्तन हुनेछन् ।

एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ । त्यो अभियानको थालनीबारे पनि सचिवालय बैठकले निर्णय गर्नेछ ।