काँग्रेस-एमाले गठबन्धनविरुद्ध मिलेर संघर्ष गर्ने माओवादीको चेतावनी

काठमाडौँ । माओवादीहरूले काँग्रेस-एमाले गठबन्धनविरुद्ध एक भएर संघर्ष गर्ने चेतावनी दिएका छन्।

बलिदान र त्यागबाट आएको परिवर्तन उल्टाउने षड्‌यन्त्र भएको भन्दै विप्लव नेतृत्वका माओवादीले मंगलबार राजधानीको संवाद डबलीमा ‘सहिद निरकुमार राईको छैटौँ स्मृति दिवस’ कार्यक्रममा उक्त चेतावनी दिएका हुन्।

नेकपाका पोलिटब्यूरो सदस्य माइला लामाले हजारौँको बलिदानबाट आएको परिवर्तनलाई संस्थागत गर्नुको सट्टा उल्ट्याउने चलखेल शुरु भएको आरोप लगाएका छन्। प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई लक्षित गर्दै माओवादीको एक हिस्सा संसदीय राजनीतिमा रमाए पनि आफूहरूले क्रान्तिलाई निरन्तर दिएको बताए।

लामाले दलाल पुँजीवादी व्यवस्थाका कारण हजारौँ युवा पलायन हुन बाध्य भएको र देशलाई थप कमजोर बनाउन देउवा-ओलीको गठबन्धन भएको बताउँदै भने, ‘अहिले क्रान्तिकारी कमजोर भएको अवस्थामा प्रतिगामी शक्तिहरूले २०४७ तिर फर्काउने कुचेष्टा गरिरहेका छन्‚ सबै माओवादी एक बनेर लडौं।’

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अस्थिरताको गोलचक्करमा फसाएर देशलाई असफल र कंगाल बनाउने मुख्य दोषी संसदीय व्यवस्था भएको र त्यसको विकल्प खोज्नुपर्ने धारणा राखे। उनले भने‚ ‘यो व्यवस्थामा प्रचण्ड, केपी या देउवा जो आए पनि सबै दूध चोर बिराला हुन्। त्यसैले अब यो व्यवस्थाको व्यवस्थाको विकल्प खोजौं।’

पार्टीका काठमाडौँ जिल्ला सेक्रेटरी चिरञ्जीवी ढकाल‚ जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा‚ सहिद निरकुमारकी पत्नी इन्द्रकला राई, घाइते योद्धा सुरेन्द्र महर्जन लगायतले बोलेका थिए।

नेकपाका तत्कालीन भोजपुर जिल्ला इन्चार्ज निरकुमार राईको २०७६ असार ६ गते हत्या भएको थियो।