'कृषिमा आधुनिक ढङ्गबाट उत्पादन गर्दै आत्मनिर्भर बन्नुपर्छ' : सभामुख घिमिरे

काठमाडौँ - प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक ढङ्गबाट अघि बढाइ उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । 

सोमबार काठमाडौँमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको १६औँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केही वर्ष अघिसम्म नेपाल कृषिमा आत्मनिर्भर रहेको भएपनि पछिल्लो समय कृषिमा परनिर्भर बन्दै गइरहेको बताए । 

सभामुख घिमिरेले व्यक्तिले मात्रै कृषि क्षेत्रको उपार्जन गर्ने र उत्पादकत्व वृद्धि गर्नेकुरा सम्भव नरहेकाले सबै मिलेर कृषिमा आत्मनिर्भर बन्नुपर्ने बताए । उनले कृषि क्षेत्रलाई राज्यले दिनुपर्ने प्राथमिकता र कृषि क्षेत्रलाई समेत समेटेर बनाइएको सहकारी ऐन, २०७४ पछि पनि कृषिमा कुनै प्रभाव नपरेको जानकारी दिए । उनले सहकारी क्षेत्र बचत तथा ऋणको कारोबार गर्ने किसिमको मात्रै हुन नहुने जिकिर गरे ।