प्रधानमन्त्रीको अभिव्यक्ति प्रकरण : आज पनि राष्ट्रिय सभा बैठक अवरुद्ध

 काठमाडौ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ । बैठक सुरु भए लगत्तै एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै अवरुद्ध गरेको हो ।

एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै हिजो बसेको बैठक पनि अवरुद्ध गरेको थियो । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने एमालेको अडान छ । केहि दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै भारतले नेपालको प्रधानमन्त्री बनाउने र भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले नेपालको स्वाभिमान, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामाथि आँच आएको र प्रधानमन्त्रीले पदमा बस्ने नैतिक अधिकार गुमाएको भन्दै एमालेले राजीनामा माग गर्दै संघीय संसदको दुवै बैठक अवरुद्ध गर्दै आएको छ ।