राष्ट्रियसभा निर्वाचन : बागमतीमा कांग्रेस माओवादीबाट मात्र १२५ जनाको नाम सिफारिस

काठमाण्डौँ - आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन घटक नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रबाट १ सय २५ जनाको नाम सिफारिस भएको छ ।

बागमती प्रदेशमा रिक्त रहेको ४ पदमा गठबन्धनका घटक दुई दलले मात्र १ सय २५ जना उम्मेदवारको सिफारिस गरेका हुन् । राष्ट्रियसभाको लागि सत्तारुढ कांग्रेसबाट ९१ र माओवादी केन्द्रबाट ३४ जनाको नाम केन्द्रमा सिफारिस भएको छ ।

गत पुस ११ गते बसेको कांग्रेस बागमती प्रदेशको बैठकले उम्मेदवार सिफारिसको जिम्मा प्रदेश सभापति इन्द्रबहादुर बानीयाँलाई दिएपछि बानीयाँले १३ जिल्लाका ९१ जना नेताहरूको नाम सिफारिस गरेका हुन् ।

राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट बागमती प्रदेश अन्तर्गतमा रहेका एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंहबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पद रिक्त हुन लागेको सन्दर्भमा स्पष्ट बहुमत रहेको गठबन्धनको दलबाट उम्मेदवार बन्न लर्को लागेको हो ।

बागमती प्रदेशमा ११० प्रदेश सांसदको ५ हजार ८३० मतभार, स्थानीय तहका २३८ जनप्रतिनिधिको ४ हजार ५२२ मतभार गरी कूल १० हजार ३५२ मतभार रहेको छ ।

बागमती प्रदेशमा कांग्रेसको ४ हजार १३, एमालेको २ हजार ५७१, माओवादीको २ हजार १९६, नेकपा एसको ५४२, राप्रपाको ७०८, नेमकिपाको १९७, हाम्रो नेपाली पार्टीको १०६, र स्वतन्त्रको १९ मतभार रहेको छ ।