राष्ट्रियसभा निर्वाचन : अन्ततः नेकपा एस दुई सिटमै मान्यो !

काठमाडौँ - राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले अन्ततः दुई सिट स्वीकार गरेको छ । आज बसेको सचिवालय बैठकले असन्तुष्टिका बाबजुद गठबन्धनले गरेको भागबण्डा अनुसार चुनाव लड्ने निर्णय लिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

आज बेलुकासम्म नाम टुङ्गो लगाउने प्रवक्ता खतिवडाले बताएका छन् । त्यसका लागि अध्यक्ष माधव नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई जिम्मा दिइएको छ । नेकपा एसले राष्ट्रियसभा अध्यक्षसहित तीन जना दाबी थियो । तर, गठबन्धनमा लामो रस्साक्सीबीच उसले दुई सिट मात्र पाएको छ । आज बिहानको बालुवाटार बैठकबाट माधव नेपाल असन्तुष्टि जनाउँदै हिँडेका थिए ।