गठबन्धनमा राष्ट्रियसभा सिट बाँडफाँट : कुन दलको भागमा कति ? 

काठमाण्डौँ - आसन्न राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनभित्र बाँडफाँटको विषयमा सहमति जुटेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट सहमति जुटाएको हो । 

रिक्त रहेका १९ सिटमध्ये १० मा कांग्रेस, ६ वटामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, दुई वटामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र एउटा सिटमा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिनेगरी टुंगो लागेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

‘राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सहयोगमा समर्थन गर्ने दलहरूका बीचमा संयुक्त रूपले उम्मेदवारी दिने विषय टुंगो लाग्यो । जम्मा १९ वटा पदका लागि १० वटा स्थानमा नेपाली कांग्रेसले, ६ वटा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, २ वटा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र एउटा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिनेगरी टुंगो लागेको छ ।

 तदनुरूप अहिलेको गठबन्धनले उम्मेदवारी दिनेछ,’ लेखकले भने, ‘आफ्नो आफ्नो पार्टीमा बसेर अब छलफल गर्छौँ र क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको छ, एक दुई ठाउँमा छलफल गरेर टुंगो लाग्नेछ ।’ 

उनले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको र बाँकी रहेका स्थानमा पार्टीमा छलफल गरेर टुंगो लगाउने बताए ।