गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री दाहाल गंगालाल अस्पताल पुगे, कस्तो छ अबस्था ?  

काठमाडौँ - उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेका छन् ।

गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएको उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री बुधबार बिहान अस्पताल पुगेका हुन् । अस्पतालमा स्वास्थ्य परीक्षणपछि श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । मन्त्री श्रेष्ठको मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको गृह मन्त्रालयले जनाएको छ । सो क्रममा श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका थिए ।

मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका उनलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको थियो । यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गरिएको थियो ।