एमालेको ‘संकल्प यात्रा अभियान’ आज लुम्बिनीमा, के–के छन् आजको कार्यक्रमहरु ? 

काठमाण्डौँ - ‘झुलाघाट–चिवाभञ्जाङ ‘समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत नेकपा एमालेको शीर्ष टोली लुम्बिनी प्रदेश प्रवेश गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली स्वयमले नेतृत्व गरिरहेको सो टोली मंगलबार साँझ लुम्बिनी प्रदेशको रुकुमपूर्वको कैचीमोडमा प्रवेश गरेको हो ।

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीलाई पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, प्रदेश इञ्चार्ज तथा केन्द्रीय सचिव पद्मा अर्यालले स्वागत गरेका छन् । आज बागलुङ हुँदै दिउँसो ३ बजे गुल्मीको वामीटक्सारमा जनसभा तय गरिएको छ ।

आज बिहानै रुकुमपूर्वको रुकुमकोटस्थित होटल लेकसिटीमा सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया गर्ने, त्यसपछि छिपृदहस्थित पिपलबोटमा कोणसभा गर्ने र १० बजे भूमे गाउँपालिकाको लुकुममा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको एमाले रुकुमपूर्वले जनाएको छ ।