राष्ट्रियसभामा एक्लै लड्दा १७ सिट जित्‍ने कांग्रेस गठबन्धन गर्दा जम्मा ७ सिटमा खुम्चिने !

काठमाडौँ - आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलभित्र नै भागबन्डा मिलाउन सकस देखिइरहेका बेला प्रमुख प्रतिपक्षी दल एमाले समेत ‘महागठबन्धन’ गर्न तम्सिएको छ ।

भागबन्डा गर्ने यो प्रयास सफल भएका १९ सिटमा कम्तीमा गठबन्धनका ६ सहित ७ दलले भाग लगाउने छन् । त्यसमा अझै संसदको चौथो र पाचौं शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पर्दैन। नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र ,नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले भागबन्डा गर्न चाहेका छन् । यद्यपि जनमत र नागरिक उन्मुक्तिले भाग पाउने नपाउने निश्चित छैन।

तर,अचम्मको कुरा के छ भने यदि यसरी भागबन्डा नगर्ने र सबै दल एक्लाएक्लै चुनाव लड्ने हो भने नेपाली कांग्रेस र नेकपा एमालेले मात्रै जित्ने देखिन्छ। प्राप्त मतभार हेर्ने हो भने कांग्रेस एक्लैले १७ सिट सम्म जित्न सक्छ भने बाकी २ सिट एमालेले जित्ने देखिन्छ।

तर,आफुले एक्लै लड्ने हिम्मत कांग्रेस र एमाले दुवैसँग छैन। त्यसैले यी दुबै दल सहित सत्तामा रहेका अन्य दल समेत मिलिजुली भागबन्डा गर्ने मुडमा छन् । भागबन्डाको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित पुर्व प्रधानमन्त्रीद्वय कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एमालेबिचमा भेटघाट बाक्लिएको छ। त्यसो त यो भेटघाटले अन्तिम रुप भने पाएको छैन। कांग्रेस सभापति देउवाले राष्ट्रिय सभा निर्वाचनको लागी गठबन्धन भित्र एमालेलाई सहभागी नगराउने बताइसकेका छन् ।

प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीसँग नजिक रहेर छलफल शुरु गरेपछि अन्य सत्ता सहयात्री दलहरू भने झस्केका छन् । यसमा बिशेषगरि नेकपा एस र जसपाले सिट कम पाउने भएपछि एमालेलाई राष्ट्रिय सभा निर्वाचनमा ‘शुन्य’ बनाउने अवसरको सदुपयोग गर्नुपर्ने बताइरहेका छन् ।

सत्ता गठबन्धन माथी एमाले सहितको महागठबन्धन बनेर भागबन्डा गरिएमा एमालेले ४ वा ५ सिट लैजाने देखिन्छ। यसो हुँदा समाजवादी र जसपा अहिलेकै अवस्थामा रहन्छन् भने नागरिक उन्मुक्ति र जनमतले भाग नै नपाउने खतरा देखिन्छ।

आगामी फागुन २० देखि एमालेको राष्ट्रपतिबाट मनोनीत १ समेत ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णालीबाट ३ र सुदूरपश्चिम प्रदेशबाट ३ सदस्यका लागि निर्वाचन हुने छ ।यसकालागि निर्वाचन आयोगले शुक्रबार मतदाता नामावली प्रकाशन समेत गरिसकेको छ। २०७८ को जनगणनाको प्रतिवेदनअनुसार प्रदेश सभाको सांसदको मतभार ५३ र पालिकाका प्रमुख–उपप्रमुखहरूको मतभार १९ तोकेको छ ।

निर्वाचन आयोगले प्रकाशित गरेको मतदाता नामावली र यिनको मतभार गणना गरेर हेर्दा यदि दलहरू एक्लाएक्लै लड्ने हिम्मत गरेमा कांग्रेसले १९ मा १७ सिटमा जित हासिल गर्ने देखिन्छ । बाँकी दुई सिटमा एमाले निर्वाचित हुने अवस्था छ । यो सातै प्रदेशको मतभारले देखाएको तथ्यांक हो। जसमा एमाले कोशी प्रदेशमा मात्रै अगाडी देखिन्छ।