राष्ट्रियसभाका उम्मेदवार छान्न आज कांग्रेस र एकीकृत समाजवादीको वैठक बस्दै

काठमाडौँ - आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनौंटका विषयमा छलफल गर्न सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको वैठक आज बस्ने भएको छ ।

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको बताए । पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ ।

यस्तै नेकपा एकीकृत समाजवादीको आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न आज सचिवालय बैठक बस्ने भएको छ । यसअघि हिजो बस्ने भनिएको बैठक तयारी नपुगेकोले स्थगन गरिएको थियो ।

उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार विभिन्न जिल्ला तथा जनवर्गीय सङ्गठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी सङ्गठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनौट गर्ने कार्यविधिका आधारमा उम्मेदवारको छनौट गरिने छ ।