अहिलेको सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्छ : माधव नेपाल  

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् ।

शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने बताए ।

‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौँ । यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ,’ उनले भने ।

उनले पार्टीहरू बीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताउँदै सबै राजनीतिक दलहरुले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्ने उल्लेख गरे ।

‘हाम्रो पार्टीहरुको बीचको सम्बन्धलाई कायम राख्नुपर्छ। सबै राजनीतिक दलहरुले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्छ । हामी लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भुमिका निर्वाह गर्नेछौँ,’ उनले भने ।

उनले संविधान संसोधन गर्ने भनेर कांग्रेस र एमालेले सरकार बनाउँदा बाँकी दलहरूसँग छलफल नगरेको पनि असन्तुष्टि व्यक्त गरे ।

‘यति महत्वपूर्ण राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेर अगाडि बढ्नुपर्थ्यो । दुइटाले खुसुक्क गर्नेकुरा उचित होइन । यसलाई जायज भन्न सकिँदैन । कम्तिमा १२र१३ वटा पार्टीहरू छन् तिनिहरूलाई बोलाएर यसो गरौं न भनिएको भए के बिग्रिन्थ्यो,’ उनले भने ।